बाढीः नेपालमा गत वर्षभरिको भन्दा यसपालि एक हप्तामै धेरैको मृत्यु

बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण नेपालको पूर्वका अधिकांश र मध्य तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुन न्यून चापीयरेखा नेपालको दक्षिणतिर अवस्थित छ।

महाशाखास्थित वरिष्ठ मौसमविद्‌ शान्ति कँडेलले भनिन्, “आजबाट पानी पर्ने गतिविधि बढेको छ र अबको तीन दिनसम्म कतिपय स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।”

वर्षाका कारण पहाडी भूभागमा पहिरो जान सक्ने तथा चुरेबाट बहने खोलाहरूमा जलसतह केही बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अधिकारीहरूले आग्रह समेत गरेका छन्।

  • बाढीपछि कमला नदी किनारमा गुलाबदेवी मण्डल यसरी सङ्घर्ष गर्दैछिन्
  • मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो, सरकारी टोली बाढीपीडितलाई नभेटी फर्कियो

पाँच वर्षको मानवीय क्षति

बाढीका कारण गत मनसुनभरिमा मृत्यु भएको भन्दा यो पटक एक हप्तामै साढे दुई गुणाले बढीको ज्यान गएको छ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार गत वर्ष बाढीका कारण १७ जनाको ज्यान गएको थियो भने यो पटक मनसुन नसकिँदै एक हप्तामा मात्रै ४६ जनाको मृत्यु भएको छ।

बाढी र मानवीय क्षति

नेपालमा बाढीका कारण मृत्यु र बेपत्ता* विसं २०७६ को तथ्याङ्क २०७६/४/६ गतेसम्मको।स्रोत: गृह मन्त्रालय

विगत पाँच वर्षको अवधिमा बाढीका कारण सबैभन्दा बढी २०७४ सालमा एक सय ६९ जनाले ज्यान गुमाएका छन् भने २०७२ सालको मनसुनमा एक जनाको पनि ज्यान नगएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ।

सो केन्द्रका अनुसार बाढीले २०७३ सालमा एक सय एकजना र २०७५ मा १७ जनाको ज्यान गएको थियो।

तर यो पटक बाढीका कारण एक हप्तामै ४६ जनाको ज्यान सरकारी आँकडाबाट देखिएको छ।

पूर्वतयारी कमजोर?

राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रस्थित उपसचिव वेदनिधि खनाल सरकारको तर्फबाट पूर्वतयारीमा विगतमा भन्दा कुनै कमी नभएको दाबी गर्छन्।

उनी भन्छन्, “कुनै वर्ष हामीले जुझ्न सक्ने क्षमताभन्दा ठूलो विपद्‌ आइपर्छ भने कुनै वर्ष जुझ्न सक्ने क्षमताभित्रकै हुन्छ। यो पटक हामीले जुझ्न सक्ने क्षमताभन्दा ठूलो विपद्‌ आइदियो।”

यद्यपि मुलुक सङ्घीयतामा गएपछि तीन तहको सरकारले निर्वाह गर्ने भूमिकासम्बन्धी केही अन्योलका कारण पनि अलि समस्या भएको उनी स्वीकार्छन्।

खनालले थपे, “ऐन, कानुन र केही स्रोत पनि स्थानीय तहमा गइसक्यो। क्षमता विकास भएन अनि त्योभन्दा माथिल्लो तहमा स्रोत भएन।”

बाढी

तर सरकारको तर्फबाट पूर्वतयारीमा कमी भएको भन्न नमिल्ने खनालको दावीसँग चाहिँ विपद्‌ मामिलासम्बन्धी एकजना जानकार असहमत देखिन्छन्।

नेपालले गर्ने पूर्वतयारी नाम मात्रको हुने गरेको डा. सुमन कर्णको बुझाइ छ।

उनी भन्छन्, “समग्रमा भन्नुपर्दा यहाँ संस्थागत प्रयास छैन। आवश्यक ऐन भए पनि त्यसअनुसार ठोस ढङ्गले काम गर्न सक्ने संयन्त्र छैन।”

देशमा प्राकृतिक विपद्‌ले निम्त्याउने जोखिमको सम्भावना बर्सेनि बढ्दै गए पनि पूर्वतयारीका लागि त्यसअनुसारको संवेदनशीलता नभएको डा. कर्णको ठम्याइ छ।

यस पटक बढी वर्षा

मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद्‌ कँडेलका अनुसार पोहोरभन्दा यसपालि बढी नै वर्षा भएको छ।

सामान्यतया ५० मिलिलिटरभन्दा बढीलाई ठूलो वर्षा भन्ने गरिएको कँडेल बताउँछिन्।

उनले भनिन्, “गत वर्षको जुलाईभरि १० दिन ५० मिलिलिटरभन्दा बढी पानी परेको थियो भने यो वर्ष जुलाई सकिन बाँकी छँदै १६ दिन ५० मिलिलिटरभन्दा बढी पानी परिसकेको छ।”

पानी पर्ने प्रवृत्तिमा देखिएको हेरफेरको कारण जलवायु परिवर्तन नै भए वा नभएको बारे भन्न नसकिने कँडेलले बताइन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*