घुसखोरीको आरोपमा धेरै प्राविधिक कर्मचारी पक्राउ पर्नुको कारण

मिटर जडान गर्ने नाममा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत शुक्रवार नेपाल विद्युत्‌ प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका ‘फोरम्यान’ अविलाल विष्टविरुद्ध आरोपपत्र दायर गर्‍यो।

घुस लिएको आरोपमा आयोगले शुक्रवार नै शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीका इन्जिनियर दिपेन्द्रकुमार देव, शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेका सब-इन्जिनियर धनवीर भगत र शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरका तत्कालीन सब-इन्जिनियर निरजकुमार चौधरीविरुद्ध मुद्दा दायर गर्‍यो।

आयोगका अनुसार साउन ४ गते गोलबजार नगरपालिका, सिरहाका सब-इन्जिनियर उमा श्रेष्ठ शौचालय निर्माणको भुक्तानी दिन सहज गराइदिए बापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परे।

साउन २ गते डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रङ कन्सलट्यान्सीका सुमित शाही घुस रकमसहित पक्राउ परेको आयोगद्वारा जारी एउटा विज्ञप्तिमा उल्लेख छ।

आयोगका अधिकारीहरूले गत असार २७ गते कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख (उप-सचिव प्राविधिक) भक्तबहादुर लामालाई घुस रकमसहित पक्राउ गरे।

आयोगले केही महिनायता घुससहित पक्राउ गरेका धेरैजसो घटनामा तथा दायर गरेका आरोपपत्रमा इन्जिनियर लगायतका प्राविधिकहरू जोडिएको देखिन्छ। आखिर किन धेरै प्राविधिक कर्मचारीहरू घुसखोरीको आरोपमा पक्राउ परिरहेका छन्?

  • अख्तियारद्वारा आफ्नै पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा
  • ठूलो भ्रष्टाचार मुद्दामा अख्तियारको हार, चार पूर्वमहानिरीक्षकलाई सफाइ
  • बालुवाटार जग्गा प्रकरणको अनुसन्धान ‘छिट्टै टुङ्गोमा’

फन्दामा धेरै प्राविधिक किन?

इन्जिनियर लगायतका प्राविधिकहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत भरिएको भन्ने विवरण पनि हालै सञ्चारमाध्यममा आएका थिए।

तर भ्रष्टाचारसम्बन्धी मुद्दाका जानकारहरू कुनै पेशाविशेषका मानिसहरू नै बढी भ्रष्टाचारी हुन्छन् भन्न नमिल्ने बताउँछन्।

उनीहरूका अनुसार आर्थिक तथा नीतिगत भ्रष्टाचार गर्नेमा जुनसुकै पेशा वा व्यवसायका मानिस हुन सक्छन्।

उसो भए प्रश्न उठ्छ – पछिल्ला आरोपपत्रदेखि आयोगका ‘स्टिङ्ग अपरेशन’का क्रममा पक्राउ पर्ने धेरैजसो घटनामा इन्जिनियर लगायतका धेरै प्राविधिकहरू किन परेका छन् त?

CIAA
कार्य सम्पन्न प्रतिवेदन पाउनका लागि कहिलेकाहीँ इन्जिनियरलाई रिझाउन मानिसहरूले पैसा दिँदारहेछन् र आयोगको ‘स्टिङ्ग अपरेशन’ का क्रममा उनीहरू पक्राउ पर्दारहेछन्।
सावित्री थापा गुरुङ
आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग

यसको ठ्याक्कै यही कारण हो भन्न सक्ने अवस्थामा स्वयम्‌ आयोगका अधिकारीहरू पनि छैनन्।

आयोगकी एकजना आयुक्त सावित्री थापा गुरुङले बीबीसी नेपालीलाई भनिन्, “त्यस्तो निचोड नै त मैले निकालेकी छैन, तर विकाससँग सम्बन्धित धेरैजसो काम प्राविधिकले गर्छन् र खासगरी इन्जिनियरले कार्य सम्पन्न प्रतिवेदन दिनुपर्ने हुन्छ अनि मात्रै बक्यौता रकम पाइन्छ।”

“त्यस्ता प्रतिवेदन पाउनका लागि कहिलेकाहीँ इन्जिनियरलाई रिझाउन मानिसहरूले पैसा दिँदारहेछन् र आयोगको ‘स्टिङ्ग अपरेशन’ का क्रममा उनीहरू पक्राउ पर्दारहेछन्।”

पछिल्ला महिनामा कतिपय इन्जिनियर लगायतका प्राविधिकहरू घुस लिँदालिँदै आयोगद्वारा पक्राउ पुर्नुको कारण नेपालमा हुने ‘असारे विकास’सँग पनि जोडिएको कतिपयको ठम्याइ छ।

असारे विकास र घुसको साइनो

त्यस्तै ठम्याइ भएकामध्ये एक हुन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात।

उनी भन्छन्, “खासमा हाम्रो मुलुकमा असारे विकास गर्ने प्रवृत्ति अलि बढी नै छ।”

“यो बेला भुक्तानी लगायतका गतिविधि बढी हुन्छ, त्यस क्रममा काम गर्ने र गराउनेको बीचमा कहिलेकाहीँ प्राविधिकहरूबाट गैरकानुनी काम हुन्छ अनि समातिन पुग्छन्।”

अख्तियारतस्वीर कपीराइटCIAA

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की अनियमितताका यस्ता घटनालाई विकास निर्माणका काममा गरिने ‘कमिसन’ लेनदेनसँग जोडेर हेर्छन्।

कार्की भन्छन्: “विकास निर्माणका काममा प्राविधिकहरूलाई आयोजना, लागत र स्थान लगायत हेरेर १० प्रतिशतसम्म कमिशन दिने प्रचलन रहेको पाइन्छ। कानुनी होइन, तर व्यवहारमा त्यस्तो चलन छ।”

“उनीहरू मिलेको बेलामा विवाद पनि हुँदैन र लेनदेन गरी काम हुन्छ भएभन्दा बढिको बिल बनाउने हुँदै नभएको खर्चको बिल बनाउने गरेको पनि पाइन्छ।”

कतिपयले आयोग पछिल्लो समय बढी सक्रिय भएकोले घुस लिँदा लिँदै अथवा लिइसकेको अवस्थामा कर्मचारीहरू पक्राउ पर्ने क्रम बढेको बताउने गरेका छन्।

अनियमितता हुने क्षेत्रमा आयोगले निगरानी बढाएकोले पनि घुस लिनेहरू धेरै पक्राउ पर्न थालेको पूर्वप्रमुख आयुक्त बस्न्यातको तर्क छ।

तर त्यो तर्कसँग पूर्वन्यायाधीश कार्की चाहिँ असहमत छन्।

उनी भन्छन्, “आयोग सक्रिय भएको भन्दा पनि कतिपय प्राविधिकले लिने घुसबारे मानिसहरूले सूचना दिने गरेकाले उनीहरू धेरैजसो पक्राउ पर्ने गरेका हुन्।”

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*